
काठमाडौं— फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ। संघीय संसद् सचिवालयले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ। नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यस्तै, नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नारायणप्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। सांसद दाहाल प्रधानमन्त्रीका सहोदर भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन्। यसअघि राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको चर्चा थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरेसँगै गठबन्धनको कांग्रेसभित्र हार्ने निश्चित हुँदाहुँदै सिनियर नेतालाई अघि सार्न नहुने दबाब बढेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो।
५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ। उसको उपाध्यक्षसहित १८ सांसद छन्। यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो। एमालेबाट १० जना सांसद छन्। नेकपा एकीकृत समाजवादी ८, जनता समाजवादी पार्टी (जसपा) ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पनि एक जना सांसद राष्ट्रिय सभामा छन्।
यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ। तर राष्ट्रिय सभाको अध्यक्ष बन्नका लागि २९ संसद्को मत मात्र चाहिन्छ। यता विपक्षमा १९ मत मात्र छ। एक सांसदलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ। त्यो नियुक्त गर्ने पात्र नयाँ गठबन्धनले अगाडि सारेको छैन।