
काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरेसँगै गठबन्धनको कांग्रेसभित्र हार्ने निश्चित हुँदाहुँदै सिनियर नेतालाई अघि सार्न नहुने दबाब बढेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो।
त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र राष्ट्रिय सभा सदस्यहरूसँग अनुरोध गर्ने निर्णय गरेको जोशीले बताए।