News Griha :: न्यूजगृह
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल!

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्ने नाममा आइतबार एकाएक राजनीतिक भेटवार्ता बढाएका बेला सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने कोटेश्वरस्थित निवासमा आराम गरिरहेका थिए। शनिबार (फागुन १९ गते) ‘भरतपुर भ्रमण वर्ष’को उद्‌घाटन समारोहमा सहभागी भएर चितवनबाट फर्किएपछि उनी अस्वस्थ भएका थिए। आइतबार  दिनभरजसो उनी निवासमै रहे।  

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने तय भएको थियो। बैठकको तयारीका लागि भनेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला बिहान साढे ७ बजे बालुवाटार पुगेका थिए। खड्का र सिटौला पुग्दासम्म प्रचण्डले भने गठबन्धन नै फेर्ने निर्णय गरिसकेका थिए। आइतबार दिनभर र राति समेत गरी एमाले अध्यक्ष ओलीसहितसँग भेटवार्ता गरेका प्रचण्डले नयाँ राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि खड्का र सिटौला निराश हुँदै बालुवाटारबाट फर्किए। खड्का र सिटौला बालुवाटारबाट फर्किएपछि मात्रै नेपालले थाहा पाएका थिए– प्रचण्डले गठबन्धन तोडेको भनेर।  

ज्यानलाई सञ्चो नभएका कारण उनले राजनीतिक घटनाक्रमहरुमा सक्रिय हुने जाँगर देखाएनन्। स्वास्थ्यावस्था बुझ्नका लागि भेट्न आउने नेताहरुसँगको कुराकानीमा उनी ‘प्रचण्ड प्रवृत्ति’प्रति नाखुस सुनिन्थे। गठबन्धनको सहयात्री दल र त्यसमाथि समाजवादी मोर्चाका नाममा ‘कसिलो कार्यगत एकता’ गरिएको भनिए पनि महत्त्वपूर्ण निर्णय गर्दा प्रचण्डले एउटा शब्द पनि नसोधेको भन्दै नेपाल असन्तुष्ट थिए। पार्टीका नेताहरुलाई पनि उनले गठबन्धन फेरिएको घटनाबारे आफूलाई कुनै जानकारी नभएको भनेर बताउने गरेका थिए। 

Prabhu Bank

सोमबार अपराह्नसम्म प्रधानमन्त्री प्रचण्ड र ओली मन्त्रालयको भागबण्डा मिलाउन र पहिलो चरणमा कसलाई मन्त्री नियुक्त गर्ने भन्ने विषय मिलाउनमै व्यस्त थिए। अपराह्न माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ लिएपछि मात्रै प्रचण्डले माधव नेपाललाई सम्झिए। मन्त्रीहरुले शपथ लिएपछि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डले माधव नेपालको प्रसंग निकालेका थिए। प्रचण्डले नेपाल बिरामी परेकाले भेट्न जानुपर्ने भनेपछि एमाले अध्यक्ष ओलीले पनि फोन गरे। सोमबार साँझ प्रचण्डकै अगाडि फोन गरेर ओलीले नेपाललाई स्वास्थ्यलाभको कामना गरे। साथै भेट्नका लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको र त्यसक्रममा प्रधानमन्त्रीले गर्ने प्रस्तावमा आफ्नो पनि समर्थन रहेको जानकारी ओलीले फोनमार्फत् नै गराएका थिए। ओ‌लीको कुरामा नेपालले ‘हुन्छ, म कुरा गर्छु’ भन्ने मात्रै जवाफ दिए। 

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बोकेर प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगे। सोही भेटका क्रममा प्रचण्डले नेपाललाई सँगै जाने प्रस्ताव गरेका थिए। तर नेपालले भने आफूलाई गरिएको बेवास्ताप्रति गुनासोमिस्रित प्रतिक्रिया बढी दिए। नेकपा एकीकृत समाजवादीका १ जना नेताका अनुसार नेपालको मुख्यो चासो ओलीसँगको सहकार्य कति दिगो हुन्छ भन्नेमा थियो। ‘ओलीजीसँगको सहकार्य कति टिक्छ? उहाँले फेरि पुरानै प्रवृत्ति दोहोर्‍यायो भने के गर्नुहुन्छ?’ २०७९ पुस १० पछि भएको सहकार्यमा समस्या देखिनुको प्रसंग समेत उल्लेख गर्दै नेपालले प्रचण्डसँग भनेका थिए। 

जवाफमा प्रचण्डले ओली पहिलेजस्तो ‘एक्स्ट्रिम’ नरहेको र कमजोरीहरुमाथि समीक्षा गर्न तयार भएको जवाफ दिएका थिए। प्रचण्डले ओली पनि छलफल गर्न आउने जानकारी दिए। र अब वामपन्थीहरुले नेतृत्वदायी भूमिकाका लागि सहकार्य गर्नुपर्ने प्रस्ताव नेपाललाई गरेका थिए। 

विकसित घटनाक्रमका बीच मंगलबार दिउँसोसम्म राजनीतिक बजारमा नयाँ हल्ला चलिसकेको थियो– कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भनेर। सभापति लामिछानेनिकट रास्वपाका केही नेताहरुले पनि कांग्रेसबाट अनौपचारिक रुपमा त्यस्तो प्रस्ताव आएको भनेर स्वीकारेका थिए। प्रचण्डले एकाएक गठबन्धन भत्काउँदा आफू सत्ताबाट बाहिरिनुपर्ने स्थितिले ‘राजनीतिक सद्‌मा’मा रहेको कांग्रेसले प्रचण्ड कदमबारे आधिकारिक धारणा बनाउने भन्दै मंगलबार अपराह्न पदाधिकारीको बैठक बोलाएको थियो। कांग्रेस नेताहरु सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भेला भएका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली भने नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। 

ओली पुग्नु अगाडि नै कांग्रेसका केही नेताहरुले नेपाललाई देउवाको तर्फबाट ‘आकर्षक अफर’  सहितको सन्देश सुनाइसकेका थिए। नेपालले देउवाको सन्देशप्रति कुनै बचनबद्धता भने जनाइसकेका थिएनन्। मंगलबार अपराह्नतिर ओली पुगेपछि भने नेपाल निवासको माहोल ‘भावुक’जस्तै बन्यो। ओलीले नरम भएर विगतका गल्तीहरुबाट सिक्नुपर्ने कुरा गरेपछि नेपाल सकारात्मक देखिए। नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा गंगालाल तुलाधरका अनुसार नेपाल निवास पुगेर ओलीले अपेक्षा गरेकोभन्दा पनि बढी लचकता देखाएका थिए। जुनसुकै प्रसंगका कुरा गर्दा पनि ओलीले आफ्नो स्वभाविक अडान समेत देखाएनन्। 

‘उहाँ (ओली)को मुख्य जोड नै सहकार्य गर्ने भन्नेमा देखिएको थियो। पछि अध्यक्ष (नेपाल)ले हामीसँग कुरा गर्दा पनि ओली कमरेड धेरै नै नरम भएको पाएँ भनेर भन्नुभयो,’ तुलाधरले सुनाए। ओलीको व्यवहारबाट मन पग्लिए पनि नेपालले कुनै निर्णय भने दिइसकेका थिएनन्। उनले भावी सहकार्यका विषयमा पार्टीका साथीहरुसँग पनि कुरा गर्नुपर्ने बताएका थिए। 

मंगलबार साँझसम्म नेपाललाई मनाउन आफ्ना विश्वासपात्रहरुलाई परिचालन गरेका कांग्रेस सभापति देउवा बुधबार बिहान भने नेपाललाई भेट्न आफैं कोटेश्वर पुगे। पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पत्नी  तथा पार्टी नेता आरजु राणालाई साथमा लिएर देउवा बुधबार बिहान करिब १० बजेतिर कोटेश्वर पुगेका थिए। 

बुधबार नेपालको जन्मदिन समेत थियो। जन्मदिनको शुभकामना दिनका लागि पार्टीका नेताहरु नेपाल निवास आउने–जाने गरिरहेका थिए। देउवा कोटेश्वर पुग्नुभन्दा करिब १५ मिनेट अगाडिदेखि आफू पनि त्यहिँ रहेको तुलाधरले सुनाए। नेपाललाई भेटेपछि देउवाले पहिलो प्रस्ताव नै ‘तपाईं प्रधानमन्त्री बन्नुहोस्’ भनेर गरेको तुलाधर बताउँछन्। 

‘देउवाजी आएर सोफामा बसेपछि हल्का हालखबर सोधपुछको क्रम चल्यो। देउवाले बढी भूमिका नबाँधी माधवजी अब तपाईं प्रधानमन्त्री बन्नुपर्छ, अगाडि बढ्नोस् भनेर भन्नुभयो,’ बुधबार बिहानको भेटवार्ताबारे एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले न्यूजगृहसँग भने, ‘उहाँले रास्वपा पनि आफूहरुकै साथमा आउने र सजिलै बहुमत जुट्ने दाबी गर्नुभएको थियो। रास्वपाले प्रधानमन्त्री बाहेक अरु महत्त्वपूर्ण मन्त्रालय लिने कुरा भएको छ भन्ने कुरा गर्नुभयो।’

प्रचण्डले बीचमै छाडे पनि पुरानै सहमतिअनुसार प्रधानमन्त्री बन्न भन्दै देउवाले नेपाललाई प्रस्ताव गरेको तुलाधर बताउँछन्। ‘प्रचण्डजीले छाड्नुभयो। उहाँले छाडे पनि हामी भने पुरानै सहमतिअनुसार जानुपर्छ। अब तपाईं प्रधानमन्त्री बन्नुपर्‍यो। अगाडि बढ्नुस् भन्ने उहाँ (देउवा)को प्रस्ताव थियो,’ तुलाधर भन्छन्। 

सभापति देउवासँगै नेपाललाई भेट्न कोटेश्वर पुगेका कांग्रेस नेता लेखक पनि नेपाललाई गम्भीर रुपमै ‘उपयुक्त’ प्रस्ताव गरिएको स्वीकार्छन्। माओवादी केन्द्र बाहेकका पार्टी मिलेर पुरानै गठबन्धन सक्रिय बनाउने र पहिलेकै सहमतिअनुसार सरकारको नेतृत्व गरेर जाने विषयमा छलफल भएको लेखकले जानकारी दिएका थिए। 

बुधबार नै न्यूजगृहसँग कुरा गर्दै लेखकले भनेका थिए, ‘गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि हामीले त्यो गठबन्धन बनाएका थियौं। हाम्रा कार्यभारहरु अझै बाँकी छन्। फेरि पनि सहकार्य गरेर जानुपर्छ भन्ने हाम्रो प्रस्ताव रह्यो। त्यसमा माधव नेपालजीले सकारात्मक जवाफ दिनुभएको छ। हाम्रो छलफल सकारात्मक भयो।’  

लेखकले नेपालबाट सकारात्मक जवाफ आएको दाबी गरे पनि त्यसदिन नेपालले भने आफूहरु (खास गरेर कम्युनिस्ट पार्टीहरु)बीच दीर्घकालीन सहकार्यको कुरा भइरहेकधो भनेर देउवालाई जवाफ दिएको तुलाधर बताउँछन्। ‘ओलीजीसँग कुरा भएपछि माधव कमरेड प्रधानमन्त्री (प्रचण्ड)ले भनेअनुसार सहकार्यका लागि सकारात्मक हुनुभएको हो। देउवाजीले प्रधानमन्त्री बन्नुहोस् भनेर प्रस्ताव गरेपनि उहाँ त्यसका लागि उत्सुक भएर लाग्नुभएन।’

एकीकृत समाजवादीका अर्का १ जना पदाधिकारीका अनुसार ओलीले त्यति लचकताका साथ सहकार्यको प्रस्ताव गर्लान् भनेर नेपालले कल्पना गरेका थिएनन्। कुनै बेला नेपालको नाम लिएपछि मुख बिटुलो हुन्छ भनेर ‘कुल्ला गर्छु’ भन्ने ओली लचकताका साथ सहकार्यको प्रस्ताव गर्न आएपछि नेपाल पग्लिएको बताउँछन् ती पदाधिकारी। ‘अस्तीसम्म पनि ओली कमरेडले माधव कमरेड लक्षित गरेर आगो ओकलिरहनुहुन्थ्यो। उहाँले हाम्रो त अस्तित्व नै स्वीकार गरिरहनुभएको थिएन। तर अहिले आएर यो हदको लचकता प्रदर्शन गरेपछि माधव कमरेड पग्लिनु भएको हो। ओली कमरेड लचक बनेपछि माधव करेडले प्रधानमन्त्रीको अफर अस्वीकार गर्नुभएको हो,’ ती पदाधिकारीले न्यूजगृहसँग भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:५३
Weather Update