News Griha :: न्यूजगृह
अर्कै राजनीतिक समीकरण निर्माणमा जुटेका हुन देउवा? 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा (फाइल तस्बिर)।

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन फेरेर एमालेसँगको सहकार्य रोजेपछि किंकर्तव्यविमूढ बनेको नेपाली कांग्रेस पछिल्लो समय भने राजनीतिक भेटघाट र परामर्शमा सक्रिय भएको छ। सभापति शेरबहादुर देउवा अरु दलका नेताहरुसँगको भेट र वार्तामा सक्रिय भएर लागेका छन्। 

प्रधानमन्त्री प्रचण्डले आइतबार राति नै कांग्रेससँगको गठबन्धन तोड्ने लभभग पक्का भइसकेको थियो। सोमबार उनले कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई मन्त्री नियुक्त गरे। प्रधानमन्त्रीले गठबन्धन फेरेर मन्त्रिमण्डल पुनर्गठन गरिसक्दा पनि कांग्रेसले भने ढिला गरेर मंगलबार मात्रै त्यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको थियो। मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले गठबन्धन तोडिनुमा आफू जिम्मेवार नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘राजनीतिक बेइमानी’का कारण गठबन्धन तोडिएको कांग्रेसको निष्कर्ष छ। 

कांग्रेसले मंगलबारको बैठकबाट प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको थियो। बैठकपछि कांग्रेस उपसभापति धनराज गुरुङले भनेका थिए, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौँ। अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौँ।’ 

Prabhu Bank

देउवाको सक्रियता
प्रधानमन्त्री प्रचण्डले आफूसँगको गठबन्धन भत्काएर एमाले र रास्वपाका नेतालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि कांग्रेस सभापति देउवाले सोमबार पार्टी पदाधिकारीहरुको आकस्मिक बैठक डाकेका थिए। बैठकमा देउवाले प्रचण्डबाट धोका पाइएको बताएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट्न खोज्दा पनि गठबन्धन तलमाथि होला भन्ने भनेर आफूले भेट्न नमानेको, तर प्रधानमन्त्री प्रचण्डले धोका दिएको देउवाको भनाइ थियो। 

मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत सभापति देउवाले प्रचण्डबाट धोका पाइएको बताएका थिए। ओलीसँग पछिल्लो समय तारन्तार भइरहेका भेटका विषयमा जिज्ञासा राख्दा प्रधानमन्त्रीले गठबन्धन तलमाथि नहुने भन्दै आश्वस्त पार्ने गरेको पनि देउवाले बैठकमा सुनाएका थिए। 

गठबन्धन भत्किएको विषयमा मंगलबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट धारणा निर्माण गरेपछि भने देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाले मंगलबार साँझदेखि नै विभिन्न दलका नेताहरुसँग प्रत्यक्ष भेटमा र फोनमा समेत कुराकानी गरेको उनीनिकट स्रोतको दाबी छ। 

देउवाले बुधबार बिहान मात्रै नेकपा एमालेका १ जना उच्च तहका नेतालाई भेटेको स्रोतको दाबी छ। भेटमा कांग्रेस र एमालेको सम्भावित सहकार्यबारे छलफल भएको स्रोतले बतायो। एमालेका ती नेताले पार्टी अध्यक्ष ओलीसँग छलफल गरेर थप कुराकानी अगाडि बढाउने भनेर प्रतिबद्धता जनाएको स्रोतले दाबी गर्‍यो। देउवाले बुधबार नै ओलीसँग भेटवार्ताको वातावरण बनाउन भन्दै एमालेका ती नेतालाई आग्रह गरेको स्रोतले बतायो। 

एमाले नेतासँगको भेटपछि देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए। सभापति देउवा पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक तथा पत्नी समेत रहेकी पार्टी नेता आरजु राणा देउवालाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए। 

नेपालसँगको भेटमा सभापति देउवाले यसअघिकै (पुरानो) गठबन्धनलाई ब्युँताउने प्रस्ताव गरेको नेता रमेश लेखकले जानकारी दिए। ‘गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि हामीले त्यो गठबन्धन बनाएका थियौं। हाम्रा कार्यभारहरु अझै बाँकी छन्। फेरि पनि सहकार्य गरेर जानुपर्छ भन्ने हाम्रो प्रस्ताव रह्यो,’ नेता लेखकले भने, ‘त्यसमा माधव नेपालजीले सकारात्मक जवाफ दिनुभएको छ। हाम्रो छलफल सकारात्मक भयो।’

देउवाले मधेस केन्द्रित दलका केही नेताहरुसँग पनि फोनमा कुराकानी गरेका छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कुराकानी गरेका थिए। विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवा र ठाकुरबीच बुधबार भेटवार्ता हुने तय भएको स्रोतले जानकारी दिएको छ। 

छुट्टै समीकरण बनाउने प्रयासमा छ कांग्रेस? 
नेपाली कांग्रेसको दोस्रो तहका नेताहरु प्रधानमन्त्री प्रचण्डबाट धोका पाइसकेपछि विकसित घटनाक्रमलाई टुलुटुल हेरेर मात्रै बस्न नसकिने बताउँछन्। न्यूजगृहसँग सम्पर्कमा आएका केही नेताहरुले अबको राजनीतिक घटनाक्रमहरु अपेक्षाकृत ढंगले मात्रै अगाडि बढ्न नसक्ने बताए। 

‘सम्भव भएसम्म कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने हो। त्यसलाई पहिलो प्राथमिकतामा राखेर हाम्रो प्रयास पनि भइरहेको छ। त्यो सम्भव भएन भनेपनि अरु पार्टीलाई नेतृत्व दिएर भए पनि नयाँ बन्न लागेको गठबन्धनलाई रोक्ने प्रयास त गरिन्छ नै, गर्नु पनि पर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा नेपाली कांग्रेसका १ जना नेताले भने। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने छुट्टै राजनीतिक समीकरण निर्माण गर्नेमा अहिले आफूहरु सक्रिय नभएको बताउँछन्। विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीहरुसँग छलफल हुनु सामान्य रहेको खड्काको भनाइ छ। 

‘राजनीतिक घटनाहरु परिवर्तन भइरहेको सन्दर्भमा हामीले छलफल नै गर्नु हुँदैन भन्ने पनि हुन्छ र? भेटवार्ता, छलफल भइरहन्छन्। यो सामान्य कुरा हो,’ न्यूजगृहसँग कुरा गर्दै खड्काले भने, ‘तर नयाँ समीकरण बनाउने भन्ने प्रकारको कुरा भएको छैन। अहिले हामी त्यो अभ्यासमा छैनौं।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पार्टी सभापति देउवाले भेटवार्ता गरेको विषय पनि सामान्य नै भएको खड्काको भनाइ छ। ‘एकीकृत समाजवादी र हामी एउटै गठबन्धनमा थियौं। अहिले पनि उहाँहरुले नयाँ गठबन्धनको विषयमा निर्णय गरिसक्नु भएको छैन। त्यस हिसाबले छलफल भएको हो। उहाँको स्वास्थ्यमा पनि समस्या देखिएकाले स्वास्थ्यावस्था बुझ्न र विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न सभापति कोटेश्वर जानुभएको हो,’ खड्काले भने। 

पछिल्लो समय सभापति देउवासँगै राजनीतिक भेटवार्ताहरुमा सक्रिय भइरहेका संसदीय दलका प्रमुख सचेतक लेखक पनि नयाँ समीकरण निर्माणको सन्दर्भमा अनविज्ञता प्रकट गर्छन्। ‘एमालेसँग मिलेर सरकार बनाउने वा अर्को छुट्टै गठबन्धन बनाउने भनेर कुराकानी भएको मलाई जानकारी छैन,’ लेखकले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:०२
Weather Update