News Griha :: न्यूजगृह
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने? 

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्। उनले ५ पटक सरकारको नेतृत्व गरिसके। धेरै पटक प्रधानमन्त्री भए पनि सम्झन लायक काम भने देउवाको कार्यकालमा भएको छैन। 

‘प्रजातन्त्र दरबारमा लगेर बुझाएको’ आरोप खेपेका देउवालाई ‘काबिल’ प्रधानमन्त्रीको रूपमा लिँइदैन। देउवाका प्रशंसकहरू भने उनलाई ‘पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल’ व्यक्तिका रूपमा चित्रण गर्छन्। तर पछिल्लो घटनाक्रमले भने त्यो देखिएन। उनी ‘लुजर’ देखिए। 

घटनाक्रम 
आइतबार साँझदेखि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन ‘धराप’ मा परेको भान परिसकेको थियो। हुन त त्यसअघि नै कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन गोप्य छलफल नभएका पनि होइनन्।

Prabhu Bank

आइतबार साँझ भने लगभग गठबन्धन टुक्रिने छनक आइसकेको थियो। त्यसैको कडी उदाहरण हो– परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित हुनु। गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नो निवासमा आइतबार साँझ सारथीसँग छलफल गरिरहेका थिए। उता बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने नयाँ गठबन्धनलाई अन्तिमरूप दिन सघन छलफलमा थिए। 

प्रचण्डको एक मात्र एजेण्डा थियो– नयाँ समीकरण बनाउने, सरकारको नेतृत्व गर्ने। ओलीको महत्त्वकांक्षा थियो– कांग्रेस नेतृत्वको गठबन्धन भत्काउने र आफ्नो नेतृत्वमा नयाँ गठबन्धन गर्ने। रविको पनि त्यस्तै आकांक्षा थियो– जसरी पनि उपप्रधानसहित गृह मन्त्रालयमा पुनर्बहाली हुने। 

तीनै जनाको ‘क्यामेस्ट्री’ मिल्यो र त खिचडी पाक्यो मध्यरातमा। भेलिपल्ट सोमबार मात्र मध्यरातमा पाकेको खिचडी बाँडियो। त्यसपछि निदाएको शेर अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा शिकार खेल्ने चाँजोपाँजो मिलाउन थाले।

मंगलबार देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरे। त्यसपछि उनी शिकार खेल्न निस्किए, तर देउवाले शिकार भेट्टाएनन्। निरास भएर बासस्थान फर्किए। देउवाले रास्ववासहित, मधेस केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तथा सुदूरपश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग छलफल गरे तर उल्लेखनीय प्रगति भएन।

त्यस्तै ओलीको सत्तोसराप गर्ने नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरे, तर दाल गलेन। नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ गरेका देउवाले एकीकृत समाजवादीलाई नयाँ समीकरणमा समाहित हुन रोक्न सकेनन्। अन्ततः नेपालले २ जना मन्त्रीलाई सरकारमा पठाए। 

के गर्लान् देउवा?   
एमाले र रास्वपा लगायत दलसँग पनि कुरा नमिलेपछि नेपाली कांग्रेसले प्रचण्डबाट ‘राजनीतिक बेइमानी’ भएको निष्कर्ष निकालेको छ। बिहीबारको संसदीय दलको बैठकले गठबन्धनप्रति कांग्रेस इमान्दार र प्रतिबद्ध रहँदारहँदै गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘गठबन्धनप्रति नेपाली कांग्रेसले सँधै इमान्दार रह्यो। सहमतिमा प्रतिबद्ध रह्यौँ। तर पछिल्लो समय गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले विश्वासघात गर्दै गठबन्धन भत्काउनु भयो। गठबन्धनबारे उहाँले भन्नुभएका कारण अत्यन्त काल्पनिक, कपोकल्पित तथा तथाकथित मानेका छौँ। र यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।’ 

देउवाको लड्डु कसले खाने? 
देउवा प्रतिपक्षमा बस्ने मुडमा छैनन्। आफू सत्तापक्षमा रहनका लागि सबैलाई प्रधानमन्त्रीको ‘लड्डु’ बाँड्दै हिँडेका छन्। तर उनको लड्डु कसैले पनि खाएन। देउवाको विशेषता नै हो प्रतिपक्षीमा बस्नै नसक्ने। उनलाई सत्ता चाहिन्छ। सत्ता विना देउवा ‘पानी विनाको माछा’ जस्तै हुन्छन्। बागमतीमा धेरै पानी बगिसक्यो, तर पनि देउवा लड्डु बाँड्न रोकिएलान् जस्तो छैन। स्वभावतः देउवा मुडी छन्। उनको मुडी स्वभावकै कारण कांग्रेसले दुर्गति झेल्नुपरेको हो। 

कुनै समय देउवालाई राजनीतिका चतुर खेलाडीसमेत भनिन्थ्यो। अहँ त्यो होइन रहेछ। नयाँ सत्ता समीकरण बन्न लागेको छनकसमेत उनले पाउन सकेनन्। योबाट प्रष्ट हुन्छ कि देउवा राजनीतिका चतुर खेलाडी होइनन्। कतिपय परिस्थितिमा कूटनीतिकभन्दा पनि देउवा बढी स्पष्ट वक्ता हुन भन्छन् कांग्रेसीहरू। 

यो भन्दैमा देउवा मैदानमा आउँदै नआउँने पनि त होइन होला। नयाँ सत्ता गठबन्धन भत्काउने र सरकारमा जाने उनको प्रयत्न रहिरहन्छ। प्रचण्डसँग आलोपालोको सहमति गरेका ‘सत्ता पिशाची’ देउवा भाग्मै आएको प्रधानमन्त्री पद गुमाउँदा कति तनावमा होलान्? कल्पना मात्र गर्न सकिन्छ।

तनावमुक्त हुन देउवा लड्डु बाँड्न पक्कै हिँड्छन्। अहिले उनको लड्डु नखाए पनि केही दिन, महिना, वर्षसम्म त उनै प्रचण्ड, ओली, नेपालमध्ये एकले खान्छन्, खान्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:४७
Weather Update