
काठमाडौं— गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन्। समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै उनले लेखेकी छन्, ‘मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरूबाट फैलिन चाहनु मेरो के गल्ती थियो र? म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए।’
उनले अगाडि लेखेकी छन्, ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटकपटक पार्यो। धेरै पटक मार्यो। तर पनि उठेँ। हिम्मत हारिनँ। हार्ने पनि छैन।’ समीक्षाले आजकल आफूलाई लडाकु जस्तो लाग्ने बताएकी छन्।
‘आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ,’ उनी अगाडि लेख्छिन्, ‘त्यसैले अन्यायविरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैँबाट आओस भन्ने कामना र सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दछु।’