News Griha :: न्यूजगृह
अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने 

काठमाडौं— मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छन्।

नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छन्। प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छन्। तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो। 

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन्। अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन्। ‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएको छु । त्यसकालागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ। तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अङ्क जोडेर तेस्रो स्थानमा छ। यस सिजन सात खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सको लागि सानदार प्रदर्शन गरेका छन्। १० खेल खेलिसकेको गोकुलम केरेला २३ अङ्कसहित शीर्ष स्थानमा छ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन्। प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन्। एञ्जिला र गीता सेथु एफसीमा छन्। रश्मि र अमृता स्पोर्ट्स उडिसामा आवद्ध छन्।  

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:१२
Weather Update