
काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बिदाइका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै विश्वकपका लागि यो प्रतियोगिता धेरै महत्त्वपूर्ण भएको बताए।
यस्तै, उनले नेपाल सरकारले विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ छुट्टयाएकोमा त्यसको प्रशंसा गर्दै आउने दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताए। कप्तान पौडेलले भने, ‘युवा खेलाडीहरुको लागि धेरै राम्रो अवसर हो यो, विश्वकप आउनुभन्दा अगाडि यो टुर्नामेन्ट धेरै महत्त्वपूर्ण छ। हिजो भर्खर विश्वकपको तयारीका लागि ५ करोड छुट्टयाएको छ। यो एकदमै राम्रो काम भएको छ सरकारको तर्फबाट। आउने दिनहरुमा पनि यस्तै साथ सहयोग भइरहन्छ भन्ने विश्वास छ। तयारीको कुरा गर्दा हाम्रो तयारी एकदमै राम्रो छ। आउने दिनमा राम्रो गर्ने छौँ।’
यस्तै, नेपाली टिमका प्रशिक्षक मोन्टी देशाइले पछिल्लो समयमा भएका खेलहरु एकदमै राम्रो भएको भन्दै आगामी खेलहरु पनि राम्रो हुने अपेक्षा गरेको बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीको बिदाइ गर्दै राम्रो खेल्ने विश्वास व्यक्त गरे। घिसिङले भने, ‘नेपालको खेल क्षेत्रमा क्रिकेट सबैभन्दा माथि छ। शिखरमा रहेको छ। यस्तो अवस्थामा अपेक्षा पनि धेरै हुन्छ। हामी जुन उचाइमा पुगेका छौँ त्यो मिहिनेत एकदमै राम्रो छ र हङकङमा हुने यो खेलमा पनि राम्रो गर्नु हुनेछ भन्ने विश्वास छ।’
नेपाली टोली बिहीबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ प्रस्थान गर्ने छ। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। त्रिकोणात्मक सिरिजअन्तर्गत फागुन २७ गते नेपाल र हङकङबीच खेल हुनेछ। फागुन २९ गते नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ। दोस्रो खेल सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन्।