
काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ। नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो।
नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै टिम भान डर गुगटेनले नेदरल्यान्ड्सलाई जित दिलाए।
नेदरल्यान्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे। २९ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको प्रहार गर्दै ५४ रन बनाएका थिए।
स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके। २९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन बनाए। म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए।
कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन्। नेदरल्यान्ड्सविरुद्ध नेपालका अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। ३७ बलको सामना गरेका उनले ३ छक्का र १ चौका प्रहार गरे।
यस्तै, गुलशन झाले ३४ रन बनाए। २५ बलको सामना गरेका उनले १ छक्का र ३ चौका प्रहार गरे। नेपालका लागि कुशल मल्लले २६ तथा कप्तान रोहित पौडेलले २५ रन बनाए। ११ बलको सामना गरेका कुशलले ३ छक्का हिर्काए। यस्तै, १९ बलको सामना गरेका कप्तान पौडेलले ३ चौका र १ छक्का प्रहार गरे।
ओपनिङ ब्याटर कुशल भुर्तेलले २० रन बनाए। १० बलको सामना गरेका उनले २ छक्का र १ चौका प्रहार गरे।
दीपेन्द्र सिंह ऐरी १ रन बनाएर आउट हुँदा करन केसीले ९ रनको योगदान दिए। सोमपाल कामी र प्रतिस जीसी ६–६ रनमा नटआउट रहे।
नेपालविरुद्ध नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २–२ विकेट लिए।