
विराटनगर– कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ।
क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो ।
उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। यो प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहेका छन्।
क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता छ।
दैनिक २ वटा खेल हुने गरी तालिका बनाइएको छ। पहिलो खेल बिहान १० बजे र दोस्रो दिउँसो २ बजेदेखि सुरु हुनेछ।
विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।