News Griha :: न्यूजगृह
प्रतिकुल मौसमले सर्‍यो गौरीगंगा गोल्डकप 

धनगढी– कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप प्रतिकुल मौसमका कारण तीन दिन पछि सारिएको छ।
 
शनिबार उद्घाटनको तयारी गरेको आयोजकले कैलालीमा लगातार बर्षा भएपछि उद्घाटन समारोह सहित प्रतियोगिता तीन दिन पछि सारिएको जनाएको हो । 

यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

यसअघि प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो । 

प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत राखिएको छ । यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरु आयोजना हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबका बीचमा हुने छ । गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । 

यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:२४
Weather Update