
काठमाडौं– हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो।
अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २० खेलिरहेको टिमबाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र आशिफ शेखलाई विश्राम दिइएको छ।
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अभिनास बोहोरा छन्।
नेपालले हङकङमा मार्च ९ देखि १३ तारिखसम्म त्रिकोणात्मक टी २० क्रिकेट खेल्ने छ। त्यहाँ नेपालले घरेलु टोली हङकङका साथै पपुवा न्युगिनी (पीएनजी)सँग पनि खेल्ने तालिका छ।
त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन्। मार्च १२ मा पीएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पीएनजी खेल्ने छन्।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।
साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ।