नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो।
बङ्गलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन्। उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन्। त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्।
नेपालकी गोलकिपर झरना डुम्राकोटीले बङ्गलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बङ्गलादेशले पेनाल्टीको अवसर पाएको थियो।
प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन्।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० २०:४१