News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि अनिषलाई

काठमाडौं– प्रधानसेनापति खुला म्याराथनको उपाधि पर्वतका अनिष थापामगरले जितेका छन्। शनिबार काठमाडौंमा सम्पन्न म्याराथनमा अनिषले  निर्धारित ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गरे। उनले मोटरसाइकल र तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

एपीएफका किरणसिंह बोगटी दोस्रो भए। दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दौड पुरा गरेका किरणले दुई लाख रुपैयाँ पुरस्कार पाए। नेपाली सेनाका राजन रोकाया तेस्रो भए। उनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। म्याराथनमा शीर्ष १० मा अटाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।

Prabhu Bank

यस्तै २१ किमि महिला हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भइन्। एक घण्टा १६ मिनेट २२ सेकेन्डमा दौड पुरा गरेकी उनले २५ हजार रुपैयाँ र स्कुटर पुरस्कार पाइन्। नेपाल पुलिसकी रामकाया बुढा दोस्रो बन्दै ५० हजार र तेस्रो भएकी पुलिसकै राजपुरा पछाईले ३५ हजार रुपियाँ पाइन्।

यस्तै पुरुष हाफ म्याराथनमा सेनाका दीपक अधिकारी पहिलो भए। एक घण्टा पाँच मिनेट ११ सेकेन्डमा दौड पुरा गरेका उनले ७५ हजार रुपैयाँ र मोटरसाइकल पुरस्कार पाए। सेनाकै नरेन्द्र रावल दोस्रो भए। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। आर्मीकै गजेन्द्र राई तेस्रो भए। उनले ३५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा १० किलोमिटर, पाँच किलोमिटर दौड र ५ किलोमिटर वाकाथन विधा समावेश थिए। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता तथा रन फर फन कार्यक्रम आयोजना गरिएको हो।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:३१
Weather Update