News Griha :: न्यूजगृह
नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रभावशाली जित, पुग्यो फाइनलमा*

काठमाडौं– त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रभावशाली जित हासिल गरेको छ। जारी शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो। 

शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १२० रनको स्कोर खडा गरेको थियो। १२१ रनको विजयी लक्ष्य नेपालले ४ विकेट गुमाएर १५.२ ओभरमा पूरा गर्‍यो। 

नेपालको जितमा कप्तान रोहित पौडेल र गुलशन झाले महत्वपूर्ण योगदान दिए। कप्तान पौडेलले ४६ रन जोडे भने झाले ३८ रन बनाए। दीपेन्द्र सिंह ऐरी ४ रन र कुशल मल्ल २ रनमा नटआउट रहे। 

त्यसअघि ओपनर कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रनको योगदान दिएका थिए। 

नेदरल्याण्ड्सलाई १२० रनमा सीमित गर्न नेपालका प्रतिस जीसीले महत्त्वपूर्ण ३ विकेट लिए। प्रतिस म्यान अफ दि म्याच समेत भए। 

यस्तै कुशल मल्ल र करण केसीले समान २–२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। 

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा यसअघि लगातार हार बेहोर्दै आएको नेपालले शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो। जितसँगै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको नेपाल फाइनलमा पुगेको छ।

नेदरल्याण्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरेको भए नेपालको रनरेट नेदरल्याण्ड्सभन्दा अघि हुने समीकरण थियो। तर यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो। नेदरल्याण्ड्स ३ खेल खेलेर २ मा जित र १ मा हार बेहोर्दै ४ अङ्कका साथ पहिलो स्थानमा छ। उसको नेट रन रेट ०.३१० छ।

यस्तै नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार बेहोर्दै ४ अङ्क बटुलेको छ। उसको नेट रन रेट ०.२९३ रहेको छ भने नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार बेहोर्दै २ अङ्कको साथ तालिकाको अन्तिममा छ। उसको नेट रन रेट -०.७०० छ। अङ्क तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान छ ।

अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्याण्ड्स र नामिबिया खेल्नेछन्। उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ।

*फाइनल प्रवेश हुनुपर्नेमा अन्यथा भएकोले शीर्षक सच्याइएको छ । सम्पादक

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:५६
Weather Update