News Griha :: न्यूजगृह
अक्षय कुमारलाई लोकसभा उम्मेदवार बनाउन बीजेपीको जोड 

काठमाडौं– बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन्। 
आगामी लोकसभा चुनावमा उनी भारतीय जनता पार्टी(बीजेपी)बाट उम्मेदवार हुने तयारी चलिरहेको उनका निकटले दाबी गरेका छन्।

भारतमा यतिबेला लोकसभा चुनावको सरगर्मी बढिरहेको छ। हरेक पार्टीले आगामी चुनावलाई लिएर रणनीति बनाउन सुरु गरिसकेका छन्। 

राजधानी नयाँदिल्लीमा आम आदमी पार्टी र कंग्रेसले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन्। जहाँ आम आदमी पार्टी दिल्लीमा ४ सिट र कंग्रेस ३ सिटका लागि चुनावी मैदानमा उत्रनेछन्। 

बीजेपी पनि दिल्लीमा नयाँ अनुहारलाई लिएर चुनावको उम्मेदवार बनाउने रणनीतिमा छ। यस्तो अवस्थामा अक्षय कुमार बीजेपीको टिकट लिएर चुनावी मैदानमा उत्रन सक्ने आकलन बलिउडमा छ।

समाचारअनुसार अक्षय नयाँदिल्लीका चाँदनी चोक सिटबाट बीजेपीको तर्फबाट चुनाव लड्ने ध्याउन्नमा छन्। यसका लागि पार्टीका केही नेताले अभिनेतासँग सम्पर्क पनि गरेका छन्। उनीहरुले अहिले चुनावका लागि अक्षयलाई फकाउने रणनीति लिएका छन्। ती नेताले भेटे पनि अक्षयले आधिकारिक रुपमा केही कुरा बाहिर ल्याएका छैनन्।

भाजपा नेता र पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धनले सन् २०१४ र २०१९ मा दुई पटक त्यहाँबाट चुनाव जितेका थिए। उक्त सिटमा सन् २००४ र २००९ मा पूर्व कंग्रेस नेता र केन्द्रीय मन्त्री कपिल सिब्बलले विजय हासिल गरेका थिए।

अक्षयको भारतीय जनता पार्टीसँग राम्रो सम्बन्ध छ। अहिले उनको करिअर ग्राफ निकै तल झरेको छ। उनका पछिल्ला कयौं फिल्मले बक्सअफिसमा दमदार व्यापार गर्न सकेका छैनन्।

अक्षय यतिबेला नयाँ फिल्म ‘बडे मियाँ छोटो मियाँ’मा व्यस्त छन्। यो फिल्ममा उनले अर्का अभिनेता टाइगर श्राफसँग सहकार्य गर्दैछन्। फिल्म आगामी अप्रिल ९ मा रिलिज हुँदैछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:४४
Weather Update