
काठमाडौं– अभिनेता दयाहाङ राईको मूख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ नयाँ वर्ष २०८१ मा रिलिज गर्ने तयारी छ। तर चलचित्र भने रिलिज अगाडि नै विभिन्न कारणले चर्चामा रहिरहेको छ।
केही दिन अगाडि चलचित्रको टिजर समेत रिलिज भएको छ। टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।
टिजरमा समावेश एउटा संवादमा नेपालको ठूलो मध्येको व्यवसायिक घराना ‘चौधरी ग्रुप’को विषय पनि जोडिएको छ। जहाँ दयाहाङ माओत्से गुरुङलाई भनिरहेका छन्– सीजी ग्रुप सुन्या छौ? चाउचाउ बनाउँछ नि! त्यल्ले मलाई मासिक ४ लाखको अफर गर्या थ्यो।
माओत्से सोध्छन्– अनि किन खाइनस् त?
दयाहाङ जवाफ दिन्छन्– अब चौधरी आफैं धनी छ। धनीमाथि धनी के बनौँ।
सोही संवाद समेटिएको दृश्य अर्बपति व्यवसायी विनोद चौधरीले सामाजिक सञ्जालमा साझा गर्दै लेखेका छन्– मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी। हैट!