
काठमाडौं– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको चुनौती दिएको छ।
टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८० रन बनायो।
नेपालका लागि कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा पेभेलियन फर्किँदा दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे। कप्तान रोहित पौडेल १० रन बनाएर आउट भए। करण केसी ७ रन, सोमपाल कामी २ रन बनाएर आउट हुँदा प्रतिश जीसी एक रनमा नटआउट रहे।
अब केही बेरमा नामिबियाले जवाफी व्याटिङ गर्नेछ। नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रूपमै फाइनल दौडबाट बाहिरिनेछ।