
काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ।
फ्रान्सको क्लब एन अभान्ट ग्वेगाम्पमा अनुबन्धित सावित्रा फिफा विन्डोमा रहेको टोलीको खेलमा मात्र अनिवार्य सहभागिता हुन पाउने प्रावधान छ। वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको थियो। सेमिफाइनल फिफा विन्डोभन्दा बाहिर रहे पनि फ्रान्सेली क्लबले अनुमति दिँदा उनले मंगलबार सेमिफाइनल खेलेकी थिइन्।
तर, अब उनले फाइनल भने खेल्न पाउने छैनन्। सावित्राको क्लबले मार्च २ तारिखमा खेल खेल्ने भएकाले फाइनल गुमाउने छन्। सावित्राले जारी प्रतियोगिताका चार खेल खेल्दा ९ गोल गरेकी छिन्। उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्।