News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नामिबिया भिड्दै

काठमाडौं– नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ।
 
टीयू क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज नामिबियासँग खेल्ने छ। आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी-२० फर्म्याटमा उत्रिन लागेका हुन्।
 
एक दिवसीय क्रिकेटमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई एक एक खेलमा जितेको थियो।

नेपालले नामिबियासँग एक दिवसीयमा ब्यहोरेको हारको बदला लिने प्रयास गर्दा नामिबिया पनि लगातार जित निकाल्न चाहन्छ। यसैगरी नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने छ।

Team_Nepal-(1)-1709005002.jpg

  
बिहीबार नामिबिया र नेदरल्याण्ड्स आमने सामने हुने छन् भने शुक्रबार नेपाल र नामिबिया खेल्ने छन् । यस्तै, शनिबार नेपाल र नेदरल्याण्ड्स दोस्रो पटक आमने सामने हुने छन्।
 
आइतबार नामिबिया र नेदरल्याण्ड्स दोस्रो पटक भिड्दा समूह चरणको खेल सकिने छ। शीर्ष २ टिमले फागुन २२ गते मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
  
टी २० सिरिजका लागि नेपालले १८ सदस्यीय स्क्वाड यसअघि नै घोषणा गरिसकेको छ।

यस्तो छ नेपाली टीम

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:२२
Weather Update