
काठमाडौं– आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनमात्रै बनाउन सक्यो। नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र बास डि लिडले एक एक विकेट हात पारे। नेदरल्याण्ड्सविरुद्ध नामिबियाको सुरुआत राम्रो भएन। टिमको स्कोर १ रन हुँदा नामिबियाले पहिलो विकेट गुमाएको थियो। उसका निकोलस डाभिन खाता नै नखोलेर पभेलियन फर्किए।
त्यसपछि दोस्रो विकेट मिचेल भान लिनगेनको रुपमा नामिबियाले गुमायो। दोस्रो विकेट गुम्दा ६.१ ओभरमा ३३ रन बनाएको थियो। मिचेल २१ बलमा दुई चौकाको मद्दतले १० रन बनाए। तेस्रो विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस पभेलियन फर्किएका थिए। उनी २२ बलमा १२ रन जोडेर आउट भएका हुन्। कप्तान आउट हुँदा नामिबियाले १३.५ ओभरमा ६२ र न बनाएको थियो। चौथो विकेटको रुपमा ओपनर मलान क्रुगर आउट भए। क्रुगरले ४८ बलमा ३९ रनको पारि खेल्दा पाँच चौका हिर्काएका थिए।
लगत्तै पाँचौं विकेटको रुपमा जेजे स्मिथर खाता नखोली आउट भएका थिए। उनी पहिलै बलमा आउट भएका हुन्। त्यसपछि जान फ्रांक्लिन छैटौँ विकेटको रुपमा ३४ रनको पारि खेलेर आउट भए। उनले ५७ बलमा चार चौकाको मद्दतले ३४ रन बनाएका थिए।
फ्रांक्लिन आउट हुँदा नामिबियाले ६ विकेट गुमाएर ३२.२ ओभरमा १५५ रन बनाएको थियो। सातौँ विकेटको रुपमा जान निकोलस रनआउट भए। निकोलसले ४३ बलमा दुई छक्का र छ चौका प्रहार गर्दै ४९ रन जोडे। यसैगरी जेन ग्रीनले २२ तथा रुवने ट्रम्पलम्यानले नटआउट २३ रन जोड्दा नामिबियाले २०० प्लसको स्कोर गर्न सफल भयो।