
काठमाडौं– निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले एक दिवसीय क्रिकेट शृंखला जितेको छ। बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो।
मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो। क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आरोन जोन्सनले ४२ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो। नेपालका लागि आशुतोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जीसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए।
बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए। कलिम साना र साद बिन जफरले १–१ विकेट लिए।