News Griha :: न्यूजगृह
एपीएफ स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न, ट्रफी पुलिस स्कुललाई

काठमाडौं– प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल एपीएफ स्कुल कीर्तिपुरको १९औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना भएको हो। मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाइनल खेलमा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर(क)लाई पराजित गरि नेपाल पुलिस स्कुल साँगाले ट्रफी हात पार्न सफल भएको छ ।

३०-३० मिनेट गरी ६० मिनेटको समयावधिमा खेलाइएको फाइनल खेलमा निर्धारित समयसम्म दुवै टीमबाट गोल हुन नसकेपछि निर्णय ट्राइबेकरबाट लिइएको हो। ट्राइब्रेकरमा पुलिस ६-५ गोल अन्तरले विजयी भएको हो। पुलिसले ट्रफीसँगै नगद तीस हजार प्राप्त गर्यो। एपीएफ स्कुलले ट्रफीसँगै २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्यो।

विजयी खेलाडी तथा विद्यालयलाई सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगिता माघ २२ गतेबाट सुरु भएको थियो।

आज भएको खेलमा नेपाल पुलिस स्कुलका खेलाडी दिप्सन परियार म्यान अफ दी म्याच र प्रतियोगिता अवधिभरकै सर्वोत्कृष्ट गोलकिपरसमेत बन्न सफल भए।

विधागत रुपमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी एपीएफ स्कुलका टेन्जिङ्ग शेर्पा, सर्वाधिक गोलकर्ता सैनिक आवासीय महाविद्यालयका डिगविजय शाही, अनुशासित टीम सैनिक आवासीय महाविद्यालय सल्लाघारी बन्न सफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:५८
Weather Update