काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले छिट्टै स्वदेश फर्केर नेपालमै आफ्नो स्वास्थ्य उपचार गराउने बताएका छन् । शुक्रबार नयाँ वर्ष २०८० को सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता भण्डारीले त्यस्तो बताएका हुन् ।
३ फागुनको राती खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी र उनका ८६ वर्षीय आमा हरिकला भण्डारी घाइते भएका थिए । तर घाइते आमाको भने ४ फागुनको बिहान कृतिपुर स्थित कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
विस्फोटमा परी शरीरको ३० प्रतिशत भाग जलेका नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि भारत लगिएको थियो । सांसद भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार भइरहेको छ ।
नेता भण्डारीले अहिले स्वास्थ्यमा सुधार हुँदै आएको छ । विस्फोटपछि नेता भण्डारीले शुक्रबार पहिलो पटक प्रतिक्रिया दिएका हुन् । उनले नयाँ वर्षको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धिको कामना समेत गरेका छन् ।
भिडियो सन्देशमार्फत नेता भण्डारीले सबैको माया, सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । 'आदरणीय बुवा, आमा, दाजुभाइ, दिदीबहिनीहरू । आज हामी स्वदेशमा वा विदेशमा बस्ने नेपालीहरू विक्रम संवत् २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौ । एक अर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौ । यस अवसरमा सम्पूर्ण नेपालीलाई नयाँ वर्षको म नयाँ वर्षको सुख शान्ति समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु', नेता भण्डारीले भनेका छन्, 'मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसित सहभागी हुन सकिरहेको छैन । तपाईंहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारणले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै नै म तपाईंसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्नेछु । र यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद । जय नेपाल ।'