News Griha :: न्यूजगृह
आयोजक एपीएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं– आयोजक कीर्तिपुरको नेपाल एपीएफ स्कुल (क) र नेपाल पुलिस स्कुल साँगाबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

शनिबार भएको सेमिफाइनलमा एपीएफले मनकामना सेकेन्डरी स्कुल जोरपाटीलाई ४–० र पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँग भेट पक्का गरेका हुन्।

एपीएफको जितमा विकास बोहोराले २ तथा तन्जिङ शेर्पा र रोहित गोलेले एक/एक गोल गरेका थिए। विजयी टोलीका विकास बोहोरा खेलको म्यान अफ दी म्याच घोषित भएका थिए। उनलाई सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईँले ट्रफी प्रदान गरे।

पुलिस र सैनिक महाविद्यालयबीचको दोस्रो सेमिफाइनलमा निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। टाइब्रेकरमा पुलिसले बाजी मार्यो। पुलिसका दिप्सन परियार खेलको म्यान अफ दी म्याच घोषित भए। उनलाई सैनिक महाविद्यालयका प्रिन्सिपल दलप्रसाद पुनले ट्रफी प्रदान गरे। फाइनल मंगलबार हुनेछ। 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:१४
Weather Update