News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— नयाँ वर्ष । १ वैशाख २०८० । घर–घरमा नयाँ पात्रो टाँगिएको छ । पहिलोपटक पात्रो प्रकाशन गरी छापादेखि डीजीटलसम्मको यात्रा गरेको तोयनाथ पञ्चाङ्गको यहाँ चर्चा गरौं ।

सूर्यनाथ पन्तको परिवारले करिब सात पुस्तादेखि ज्योतिष पञ्चाङ्ग अर्थात् पात्रो बनाउँदै आएको छ । बाजे तोयनाथ पन्तले विक्रम संवत् १९४६ मा तोयनाथ पञ्चाङ्गको नाममा भारतमा पात्रो छपाएका थिए । त्यसबेला बनारसबाट छपाएर ल्याएको सो पात्रो छिमेकी र इष्टमित्र तथा नातागोतामा बाँडिदिएको उनी सुनाउँछन् ।

‘बुबाले भनेको सुनेको हुँ । बाजेले पहिलोपटक छपाएर ल्याई बाँड्नु भएको थियो रे,’ उनले भने,‘त्यो बेला अहिले जस्तो क्यालेण्डर थिएन । धार्मिक कार्य गर्न र चाडबाड मनाउन पंण्डितहरूले सूर्य र चन्द्रमाको गति हेरेर गणना गर्थे । पंण्डितहरूले घरघरमा बसेर गरेको गणना आफ्ना गाउँठाउँका मानिसलाई भन्थे ।’ सोही पात्रोलाई नेपालको पहिलो प्रकाशित पात्रो मानिन्छ । जुन १३४ वर्षदेखि निरन्तर प्रकाशनमा छ ।

Prabhu Bank

नेपालमा हिन्दु धर्म मान्नेको बाहुल्यता छ । जसमा धर्म, संस्कृति मूल्यमान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिकाको रूपमा पात्रोलाई मानिन्छ । पात्रोले अर्थात् पञ्चाङ्ग भन्नाले सामान्यतया तिथि, बार, नक्षेत्र, योग, करण गरी पाँच विषयबारे जानकारी दिन्छ । सुरुमा तिथि राखिने यस्तो पात्रो श्री ३ चन्द्र शमशेरको पालोमा वि.सं १९६१ देखि तिथि लेख्ने हटाई गते लेख्ने चलन सुरु भयो ।

२०७९ सालको अन्तिम दिन ठमेलस्थित आफ्नै घरमा बसिरहेका पन्तले भर्खरै तिनै बाजेले प्रकाशन गरेको पात्रोलाई नेपाली पात्रो एपसँग सहकार्य गरेर डिजिटल भर्सनमा १ वैशाखबाट सञ्चालनमा ल्याएका छन् । उनले उक्त पात्रोलाई २०४१ सालदेखि निरन्तर सजिलो पात्रो भन्दै क्यालेण्डरको रूपमा प्रकाशनसमेत गरेका थिए । भन्छन्,‘यो कसले किन्छ ? पैसा मात्र बर्बाद भयो भन्थे मान्छेहरू । २–३ वर्ष बेकार छापिएछ कि जस्तो पनि भयो । तर पछि त मानिसहरूले नयाँ वर्ष सुरु हुन लाग्दा किन्न थालिहाले ।’

वर्ष २०७० मा उनले तोयनाथ पञ्चाङ्गलाई डीजीटलमा राख्ने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । भन्छन्,‘त्यो बेला निरन्तरता दिन सकिएन । फेरि नेपाली पात्रोसँग कुरा भयो अनि सहकार्य सुरु भयो । १ वैशाखबाट डीजीटल भर्सनमा सुरु गर्ने भनेर तयारी गर्यौ ।’

अनलाइनमा भारतको लागि बनाइएको पात्रो छ्याप्छ्याप्ती भेटिन्छ । ती पात्रोमा धेरैले हेर्ने राशिफल, जन्म कुण्डली, भाग्य, हात समेत हेरिन्छ । उनी विस्तारै तोयनाथ पञ्चाङ्गबाट डीजीटलमा त्यस्तै सुविधा प्रयोगकर्तालाई दिन चाहन्छन् ।   नेपाली पात्रो तोयानाथ पञ्चाङ्गको डीजीटल भर्सनको आधिकारिक एप हो । तिथि, शुभ दिन, कुण्डली, दैनिक राशिफल, विदेशी मुद्रा र सुनचाँदीको दैनिक दरलगायतका सेवाका साथ नेपाली पात्रो नेपाली समुदायमाझ लोकप्रिय छ ।

तोयानाथ पञ्चाङ्ग नेपालको सबैभन्दा पुरानो र भरपर्दो ज्योतिषीय पात्रो हो । यो पात्रो वार्षिक अद्यावधिक मुद्रित पुस्तक पनि हो । यसले प्रत्येक वर्ष विक्रम संवतको अन्तिम महिनामा नयाँ संस्करण जारी गर्छ । जसले शुभ तिथि, विवाह, ब्रतबन्ध साइत, चाडबाड र दैनिक वैदिक क्रियाकलापका बारेमा बुझ्न नेपाली पञ्चाङ्गको भरपर्दो संस्करण मानिन्छ । 

पुस्तौँदेखि पात्रो बनाउने, ज्योतिष शास्त्रमा काम गरे पनि तोयनाथले त्यससम्बन्धी कतै औपचारिक शिक्षा नलिएको उनी सुनाउँछन् । तर उनको हजुरबुबा पुष्कलनाथ, बुबा सत्यनाथले भने ज्योतिष शास्त्रमा बनारसमा औपचारिक शिक्षा लिएका थिए । उनले पनि बनारसमा गएर ज्योतिष आचार्य पढेका थिए । भन्छन्,‘सानैदेखि जानेको काम यही थियो । यसैमा रुचि पनि लागेर बनारसमा गएर पढेको हुँ ।’

पुर्ख्याैली थलो लमजुङ रहेको उनको पुस्ता शाहवंशीय राजा पृथ्वीनारायण शाह नेपाल एकीकरणको क्रममा काठमाडौं आएसँगै यहाँ बसाइँ सरेको थियो । भन्छन्,‘धेरै त थाहा छैन । तर शाहवंशीय राजासँग हाम्रो बाजे बराजुको संगत थियो भन्ने चाहिँ सुनेको हुँ । राजाहरूको लागि तिथीमिति हेरिदिनुहुन्थ्यो रे ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:०७
Weather Update