
काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाइले टिमले धेरै कुरा सिक्नुपर्ने बताएका छन्। नामिबियासँगको हारबाट सिकेर नेपाल अझै बलियो भएर आउने मुख्य प्रशिक्षक देसाइको भनाइ छ।
‘यो हार हाम्रालागि अवसर हो। यसले सिक्न र अघि बढ्न सिकाउँछ,’ देसाइले भने, ‘हार्दा पनि हामीले आफ्नो भावना कसरी नियन्त्रण गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।’
प्रशिक्षक देसाइले पावरप्लेमै ४ विकेट गुमाउनु नराम्रो भएको सुनाए। यद्यपि भीम सार्की र कुशल मल्लको साझेदारीले केही राम्रो भएको उनले उल्लेख गरे।
‘खेल र परिस्थितिबाट हामी कसरी सचेत हुन्छौं भन्ने महत्वपूर्ण हुन्छ। हामीले यस बारेमा कुरा पनि गरेका थियौं। हारे पनि हामी फेरि बलियो बनेर आउनेछौं,’ देसाइले भने।
कप्तान रोहित पौडेलले पहिलो ४५ मिनेटमा राम्रो ब्याटिङ गर्न नसक्दा बिहीबारको खेलमा हार बेहोर्नुपरेको बताए। सुरुवाती ४ ब्याटरले राम्रो नखेल्दा नतिजा उल्टो आएको उनले बताए।
‘हामीले पहिलो ४५ मिनेट राम्रो ब्याटिङ गर्नुपर्थ्यो,त्यसो गर्न सकेनौं। हाम्रा सुरूआती ४ ब्याटरले राम्रो खेल्न नसक्दा राम्रो गर्न सकनौं,’ देसाइले भने, ‘एकदिवसीय खेलमा शीर्ष चार ५ ब्याटर महत्त्वपूर्ण हुन्छ। यो पक्ष एकदमै मिस भयो,’ पौडेलले भने।
बिहीबार कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदा अलआउट भएको थियो।
नेपालका लागि भीम सार्कीले ४४ रन बनाएका थिए। यस्तै, गुलसन झाले २१ र करण केसीले १६ रन बनाए। पवन सर्राफले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि भरपर्दा मानिएका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भए। यस्तै, अर्का ओपनर आसिफ शेख ४ रनमा आउट भए। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा विस्फोटक ब्याटिङ गरेका अनिल साह नामिबियाविरुद्ध भने ८ रनमै आउट भए। कप्तान रोहित पौडेल मात्र १ रन बनाएर आउट भए।
नेपाललाई सस्तैमा सेमेट्ने क्रममा नामिबियाका गेरहार्ड इरासमस एक्लैले ५ विकेट लिए। रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले समान २–२ तथा जन निकोल लोफ्टी-इटनले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।