
काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नामिबियाले नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। नामिबियाका लागि जन फ्राइलिंकले सर्वाधिक ३४ रन बनाए। यस्तै, जन निकोल लोफ्टी-इटनले ३१ रन बनाए।
नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले २३ तथा जेजे स्मितले १७ र निकोलस डाभिनले १५ रन बनाए।
नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा कप्तान रोहित पौडेलले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदा अलआउट भएको थियो। नेपालका लागि भीम सार्कीले ४४ रन बनाएका थिए। यस्तै, गुलसन झाले २१ र करण केसीले १६ रन बनाए। पवन सर्राफले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि भरपर्दा मानिएका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भए। यस्तै, अर्का ओपनर आसिफ शेख ४ रनमा आउट भए। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा विस्फोटक ब्याटिङ गरेका अनिल साह नामिबियाविरुद्ध भने ८ रनमै आउट भए। कप्तान रोहित पौडेल मात्र १ रन बनाएर आउट भए।
नेपाललाई सस्तैमा सेमेट्ने क्रममा नामिबियाका गेरहार्ड इरासमस एक्लैले ५ विकेट लिए। रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले समान २–२ तथा जन निकोल लोफ्टी-इटनले १ विकेट लिए।