News Griha :: न्यूजगृह
कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं— मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७ रनमा आउट भइन्। 

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो। जुन नेपालले सहजै भेट्टायो। 

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन्। उनले १३औँ ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन्। 

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन्। चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन्।

यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।  

नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो। नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ तथा दोस्रो खेलमा भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो।

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ सम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ राष्ट्रको सहभागिता छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ मा हुनेछ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:४४
Weather Update