
काठमाडौं— मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको हो।
कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेता धरासायी बन्न पुगेको थियो।
सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट संख्या ४८ पुगेको छ। उनले यही प्रतियोगितामा विकेट संख्या ५० पुर्याउने बलियो सम्भावना छ। नेपालका लागि कविता कुँवर र रुविना क्षेत्रीले पनि दुई/दुई विकेट लिए। कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए।
कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए। कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन्। उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन्। नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो। नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ तथा दोस्रो खेलमा भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो।
नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ।
एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ सम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ राष्ट्रको सहभागिता छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ मा हुनेछ।