News Griha :: न्यूजगृह
आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव
नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं— पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार आईसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध प्रतिस्पर्धा गर्दा नेपाललाई जित्नैपर्ने दबाव छ ।

यूएईलाई जित्नैपर्ने दबाव किन छ भने आईसिसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिमले मात्र जिम्बाब्वेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगीतामा स्थान बनाउनेछन् ।

बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । नेपाल अहिले ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । त्यो तेस्रो स्थानको नामिबियाभन्दा एक अंकले पछाडि हो ।

आज यूएईलाई पराजित गरे नेपालको ४० अंक हुनेछ । तेस्रो स्थानमा रहेर जिम्बाब्वेको टिकट पक्का गर्नेछ । अन्यथा, नेपाल प्लेअफबाट गुज्रिनुपर्नेछ । यदि नेपालले अंक बाँडे पनि नेपालका सम्भावना हुने छैन ।

अंक बाँडे नामिबिया र नेपालको समान ३९ अंक हुनेछ । पछिल्लो समय नेपाल उच्च लयमा छ । नेपालले ११ मध्ये १० खेलमा विजय हासिल गरेको छ । जसका कारण छैटौँ स्थानमा रहेको नेपाल एक खेल बाँकी हुँदा चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०६:१९
Weather Update