News Griha :: न्यूजगृह
एपीएफ प्रथम पोष्टबहादुर बोगटी स्मृति कपको सेमिफाइनलमा

काठमाडौं— विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाए पनि एपीएफले बाँकी सेटमा पुनरागमन गर्दै खेलमा फर्किन सफल भएको हो । पहिलो सेट २३–२५ ले गुमाएको एपीएफले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा सेट १–१ को बराबरीमा पुगेको थियो ।

त्यसपछिको सेटमा सुरुआतबाट नै अग्रता लिएर अगाडि बढेको एपीएफले तेस्रो सेटमा २५–१२ र चौथो सेटमा २५–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रोमाञ्चक पुनरागमन गरेको एपीएफ सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा त्रिभुवन आर्मी र नेपाल पुलिसले  सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा पहिलो सेमिफाइनलमा एपीएफको भेट आर्मीसँग हुनेछ । दोस्रो सेमिफाइनल पुलिस र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २०:१०
Weather Update