News Griha :: न्यूजगृह
बैरागी काइँलालाई राष्ट्रिय लेखक पुरस्कार

काठमाडौं— नेपाली लेखक सङ्घले प्रदान गर्न लागेको एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

सङ्घको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवम् संस्कृतिविद् काइँलालाई एक लाख राशि रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिए ।

उक्त पुरस्कार आगामी १६ वैशाखमा राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार १६ वैशाखमा दिवस मनाउने निर्णय गरेको हो ।

१९८७ सालमा ‘सरस्वती गुठी’नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवम् वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन १६ वैशाखलाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:००
Weather Update