News Griha :: न्यूजगृह
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल पुलिस र लिटिल एन्जल्स स्कुल विजयी

काठमाडौं— प्रथम (एनएपीएफएस) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस र लिटिल एन्जल्स स्कुल विजयी भएका छन् ।  

लिग चरणको खेलमा बिहीबार ग्रीन भिलेज सेकेन्डरी स्कुल कीर्तिपुरलाई लिटिल एन्जल्स स्कुल हात्तीवनले ११-० गोल अन्तरले पराजित गर्यो ।  लिटिल एन्जल्सको जितमा प्रसुन तुलाधरले ३, कृयुष डंगोल र ओस्कर लामाले २/२, अनमोल सुब्बा, निश्चल नेपाली रशिलभम मगरले समान १/१ गोल गरेका थिए भने एक गोल उसले उपहार पाएको थियो ।

त्यसैगरी आज भएको दोश्रो खेलमा नेपाल पुलिस स्कुल, सागाँले काव्या स्कुल, बुद्धनगरलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्ज्वल हुमागाईँ, नसिव हेनजन र राज दर्जीले १/१ गोल गरे । 

लिटिल एन्जल्स स्कुलका उत्कृष्ट खेलाडी प्रशुन तुलाधर र नेपाल पुलिस स्कुलका प्रशान्त मोक्तान म्यान अफ द म्याच घोषित भए ।  प्रतियोगिता अन्तरगत भोलि हारती शिक्षा मन्दिर सितापाइला र राई स्कुल, नक्सालबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थविरुद्ध नेपालय हायर सेकेन्डरी स्कुल मैदान उत्रने छ । त्यस्तै भोलि नै  मनकामना सेकेन्डरी स्कुलविरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) खेल्ने छ । 

नेपाल एपीएफ स्कुल, कीर्तिपुरको आयोजनामा सोमबारबाट सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको हो । ५० हजार पुरस्कार राशि रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म चल्ने छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मानवस्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्‍घाटन गरेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी १८ विद्यालयका १९ टीमबीच लिग कम नकआउट आधारमा खेलहरू भइरहेका छन् ।   

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:०८
Weather Update