
काठमाडौं— नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनायो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६२ रनको योगदान गरे । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए । भीम सार्कीले १७ रन बनाए । पवन सर्राफ १५ रनमा आउट भए ।
नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे । रिजन ढकालले चार रन जोडे । उनी नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
सूर्य तामाङले ३२ बलमा अविजित १० रन बनाए । ललित राजवंशी अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेटका रुपमा पेभेलियन फर्किए । उनले एक रन बनाए । उनी रनआउट भएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्य र रिजनको यो ‘डेब्यु’ खेल हो ।
नेपालले अतिरिक्त रुपमा १४ रन पायो ।