
काठमाडौं— आईसीसी यू—१९ विश्वकपअन्तर्गत सुपर–६ को खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो ।
बङ्गलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके । ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले उनले १०० बल खेल्दा ६ चौका प्रहार गरे । खराब सुरुवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो ।
ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए । आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए । लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरुमै सङ्कटमा परेको थियो । अर्जुनले २६ बलमा २ चौका प्रहार गरे ।
त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे । २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए ।
देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । गुल्सन झा, दीपक बोहरा र दिपेश कँडेल तीनै जना ३–३ रनमा आउट भएका थिए । यस्तै आकास चन्द पनि शून्य मै पेभिलियन फर्के । अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे । नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाए ।
बलिङमा बङ्गलादेशका रोहानत बोर्सनले ४ विकेट लिए । उनले ८.५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए । शेख जीवनले ३ विकेट लिए । शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए ।
सुपर–६ को शीर्ष दुईमा पर्दै सेमिफाइनल पुग्ने सम्भावना नेपालको यसअघि नै समाप्त भइसकेको छ । त्यसैले नेपालका लागि आज बङ्गलादेश र शुक्रबार भारतविरूद्धको खेल प्रतिष्ठाको लडाइँ हो ।