News Griha :: न्यूजगृह
बलिउड अभिनेत्री परिणीति गायनमा, दिँदैछिन् पहिलो लाइभ प्रस्तुति

काठमाडौं— बलिउड अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगीतिक लाइभ गर्ने भएकी छन् । उनले आइतबार आफ्नो इन्स्टाग्राम हेन्डलमा गीत गाउने अभ्यास गर्दै गरेको भिडिओ क्लिप राख्दै आफू त्यसका लागि तयारी अवस्थामा रहेको जनाउ दिएकी हुन । 

भिडिओमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’, उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् । 

गत जनवरी २५ मा उनले संगीतको दुनियाँमा पाइला चाल्ने घोषणा गरेकी थिइन् । उनले यो निर्णय आफ्ना लागि एक नयाँ अध्याय भएको र संगीत यात्राका लागि आफूले भाग्यशाली महसुस गरेको बताएकी थिइन् । उनले सन् २०१७ मा फिल्म ‘मेरी प्यारी बिन्दु’ लागि गाएको गीत ‘माना के हम’को एक भिडिओ शेयर गर्दै आफू गायन क्षेत्रमा आएको घोषणा गरेकी थिइन् ।

सन् २०११ मा फिल्म ‘लेडीज वर्सेज रिकी बहल’बाट अभिनयमा पाइला चालेकी परिणीति पछिल्लोपटक अक्षय कुमारका साथ फिल्म ‘मिसन रानीगन्ज’मा देखिएकी थिइन् । उनको आगामी फिल्म ‘चमकिला’ हो । यो फिल्ममा उनी दिलजीत दोसांझका साथ देखिँदैछिन् । यो फिल्म पञ्जाबमा आधारित छ ।

जहाँ दिलजीतले अमर सिंह चमकिलाको भूमिका निभाएका छन् । परिणीति उनकी साथी अमरजोतको भूमिकामा छिन् । जसलाई सन् १९८८ मा उनका व्याण्डका दुई सदस्यसँगै गोली हानी हत्या गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०९:१३
Weather Update