
काठमाडौं— नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा बुधबार बंगलादेशसँग खेल्ने भएको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा आइतबार समूहचरणको सबै खेल सकिएसँगै दोस्रो चरणको खेल तालिका निश्चित भएको हो ।
नेपालले शुक्रबार भारतसँग खेल्ने छ । नेपालले बंगलादेश र भारतसँगको खेल ब्लोमफोन्टेनमा खेल्ने छ । त्यसका लागि नेपाली टोली आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन लागिसकेको छ ।
भारतले आइतबार अन्तिम दिनको खेलमा अमेरिकालाई २ सय १ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । भारत र बंगलादेशले २–२ तथा आयरल्यान्डले १ खेल जितेर यो समूहबाट सुपर सिक्समा स्थान बनाइसकेको थिए । अमेरिकालाई सजिलै पराजित गरेपछि भारत समूह ‘ए’ को विजेता बन्ने निश्चित भएको हो ।
नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो । पाकिस्तान र न्युजिल्यान्डपछि समूह ‘डी’ को तेस्रो टोलीको रुपमा नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुरूप नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो ।
पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो । नेपालले २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको थियो ।