News Griha :: न्यूजगृह
आईसीसी यू–१९ विश्वकप क्रिकेट: सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब
Photo: CAN

काठमाडौं— आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि शुरु हुनेछ ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ । यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्ने दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । 

सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तानलाई पनि नेपालजस्तै जित्नै पर्ने दबाब छ । अफगानिस्तानले पनि यसअघि पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्याण्डसँग पराजय व्यहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ ।

जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्याण्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ । 

विश्वकप क्रिकेटमा नेपाल र अफगानिस्तानको यो पहिलो भेट हो । एसिया कपमा भने दुई देशबीच प्रतिस्पर्धा भएको थियो । दुबईमा भएको एसिया कप २०२३ को खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २६१ रन जोडेको थियो । जवाफमा नेपालले ४०.१ ओभरमा अलआउट हुँदा १८८ रन मात्रै बनायो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:४१
Weather Update