News Griha :: न्यूजगृह
कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

काठमाडौं— स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । 

बुधबार राति भएको कोपा डेल रेको क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा बिल्बाओले ४–२ ले बाजी मार्न सफल भयो ।   

बिल्बाओलाई सेमिफाइनलमा पुर्‍याउन गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरे पनि पर्याप्त भएन । 

पहिलो मिनेटमै गोर्का गुरुजेफाले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ३२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले गोल गर्दै २–१ को अग्रता दिलाए । 

४९ औं मिनेटमा बिल्बाओका लागि आइहान सान्चेटले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटभित्र बिल्बाओ क्लबले अरु २ गोल थप्दै सेमिफाइनलमा स्थान बनायो । 

अतिरिक्त समयको पहिलो १५ मिनेटको इन्जुरी टाइममा इनाकी विलियम्ले गोल गरेपछि बिल्बाओ ३–२ ले अघि बढेको थियो । यसैगरी १२० औं मिनेटपछिको इन्जुरी टाइममा निको विलियम्सले गोल गर्दै बिल्बाओलाई सेमिफाइनलमा प्रवेश गराउँदा बार्सिलोनालाई क्वार्टरफाइनलबाटै बिदा गरे ।

अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्न बाँकी छ । अब एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेताले अन्तिम चारमा स्थान बनाउने छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:३६
Weather Update