
काठमाडौं— दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ ।
नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्याण्डमा भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।
त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो ।
त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।