
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका डेभोन कन्वेले ५० रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । अजिक्का राहाने ३१ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १र१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । राजस्थानका जोस बटलरले ५२ रनको अर्धशतकीय पारी खेले । देवदत्त पडिकलले ३८ तथा रविचन्द्रन आश्विनले ३० रन बनाए ।
शिमरन हिटमायरले अविजित ३० रन जोडे । चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २र२ तथा मोइन अलिले १ विकेट लिए । चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अंक जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो । चेन्नई ४ अंकका साथ पाँचौँ स्थानमा छ ।