
काठमाडौं— युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्याण्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ ।
३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।
तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए ।
तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।
अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नटआउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।
नेपालले यसअघि सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्याण्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।