News Griha :: न्यूजगृह
बलिउड अभिनेता पंकज त्रिपाठी भन्छन्—‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’

काठमाडौं— बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् ।

पंकजकाअनुसार अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको भूमिकाबाट बाहिर निस्कनका लागि यो निर्णय लिन लागेको बताउँछन् । 

‘मैले आफ्नो काम कम गर्ने निर्णय लिएको छु । मलाई लाग्यो कि यो धेरै नै भयो । यति धेरै अभिनय गर्नु पनि हुँदैन । हरेक कुराको एक सीमा हुन्छ र मैले आफ्नो शारीरिक हाउभाउलाई परिवर्तन गर्न सकिनँ । यसकारण नै मैले वर्षमा १० प्रोजेक्ट गर्नुको सट्टा अब मात्र तीन प्रोजेक्ट गर्ने निर्णय लिएको छु,’ उनले भनेका छन् ।

पंकजले फिल्म ‘स्त्री २’को सेटको एक किस्सा पनि शेयर गरेका छन् । उनले आफ्नो कामले कसरी ‘ओभरल्याप’ गर्न सुरु गर्यो भन्ने किस्सा खुलाएका छन् ।

‘फिल्म ‘मे अटल हुँ’ को सुटिङ पुरा गरेर अघिल्लो दिन म ‘स्त्री २’को सेटमा पुगेँ । सुटको सुरु दिन नै निर्देशक अमर कौशिक मेरो नजिक आएर ‘अटल जी जस्तो देखिनु भएको छ’ भने । मैले ‘अब के गर्नु ? भनेर सोधेँ । त्यसपछि अमरले मलाई एकदिनको बिदा दिएर ‘घर गएर स्त्री हेर्नु र रिल्याक्स गर्नु’ भने,’ पंकजले भनेका छन् ।

पंकजले एक सेटबाट अर्को सेटमा बिना तयारी जानु कलाकारका लागि गलत भएको बताए । ‘मलाई लाग्छ कि हरेक फिल्म सुरु गर्नुअघि ३० दिनको ग्याप गर्न आवश्यक छ ।

१० दिन पुरानो चरित्रलाई बिर्सन, १० दिन परिवारलाई समय दिन र १० दिन नयाँ भूमिकाको तयारी गर्नका लागि हो । अब म यो नियम लागू गर्छु’, पंकजले भनेका छन् ।

वर्षौँको काम पछि पंकज अहिले त्यो व्यावसायिक स्थानमा छन्, जहाँ उनी नयाँ काम अस्वीकार गर्न या आफ्नो इच्छाले भूमिका स्वीकार्न सक्छन् । ‘पहिला ममाथि कैयौँ जिम्मेवारी थियो ।

त्यो बेला म हरेक काम पैसा कमाउनका लागि गर्थे । अब अवस्था फेरिएको छ । मेरो इएआई पुरा भइसकेको छ । पैसाको जीवनमा ठूलो भूमिका छैन । यो कुरा भन्नका लागि पनि पैसा चाहिन्छ । पैसा भयो भने मात्र मानिसले यी कुरा भन्न सक्छ’, उनी भन्छन् ।

रवि जाधव निर्देशित फिल्म ‘मे अटल हुँ’ १९ जनवरीमा रिलिज हुँदैछ । यो फिल्मका अलावा यो वर्ष पंकजका दुई फिल्म ‘स्त्री २’ र ‘मेट्रोः इन दिनो’ रिलिज हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:०३
Weather Update