News Griha :: न्यूजगृह
बलिउड अभिनेत्री इशा देओलले सम्बन्धविच्छेद गरेकी हुन् ?  

काठमाडौं— बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ ।  यो जोडीले आफ्नो करियरमा कैयौँ हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी इशा देओल भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा इशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ ।

इशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबरले सामाजिक सञ्जाल गर्माएको छ । इशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरूको दुई छोरी छन् । इशा र भरत अलग भएको दाबी एक रेडिट युजरले गरेका छन् । ‘इशा देओलले पतिसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्न बन्द गरेकी छन् । इशा अहिले अधिकांश समय आमा हेमा मालिनीसँग देखिने गरेकी छन्,’ ती युजरले लेखेका छन् । 

यद्यपि इशा र भरत अहिले पनि सामाजिक सञ्जालमा एकअर्कालाई फलो गरिरहेका छन् । दुवैले अलग भएको आधिकारिक घोषणा गरेका छैनन् । रेडिट युजरको पोस्ट भाइरल भएपछि सर्वसाधारणले प्रतिक्रिया दिन शुरु गरेका छन् । ‘उनी दिवाली पार्टीमा पनि एक्लै देखिएकी थिइन् । यसअघि उनी जहिल्यै भरतका साथ पार्टीमा सहभागी हुन्थिन्’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हेमा मालिनीको जन्मदिनमा भरत नदेखिएको दाबी गरेका छन् ।

इशाले गत नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाएकी थिइन् । त्यो जन्मदिनमा पति भरत उपस्थित थिएनन् । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरूको एक छोरीको जन्म सन् २०१७ मा अर्की छोरीको जन्म सन् २०१९ मा भएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:४५
Weather Update