
काठमाडौं— मणि लामाको निर्णायक गोलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ । शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा आर्मीविरुद्ध एपीएफले १–० को रोमाञ्चक जित निकालेको हो ।
एपीएफका मणि लामाले ३७औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भएको हो । पेनाल्टी बक्सभित्र विपिन श्रेष्ठले उपलब्ध गराएको बललाई मणिले गोलमा परिणत गरे । यस जितसँगै एपीएफले चार खेलबाट ७ अंक बनाएको छ । पहिलो पराजय व्यहोरेको आर्मीको समान ४ खेलबाट ५ अंक भएको छ ।
यसअघि आर्मीले तीन खेलबाट एक जित र दुई बराबरी खेलेको थियो । लिगमा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा च्यासल मैदानमा खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ भने एन्फा मुख्यालयको मैदानमा हिमालयन शेर्पा र संकटा क्लवबीच खेल हुनेछ । दुबै खेल साढे २ बजे हुनेछन् ।