News Griha :: न्यूजगृह
कसले जित्ला गौरीगंगा गोल्डकप, यी क्लब हुन् दाबेदार

धनगढी– कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टारसिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्टारसिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाहीपछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नवयुवा मैत्रीभाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।

उपाधि भिडन्त अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका कोच धर्मराज भुसालले भने,‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ पनि ।’

फोर ब्रदर्शका कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए । स्टारसिटीका कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको बताए । ‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वीको अवस्था हेरेर रणनीति तयार पारेका छौँ ।’

स्टारसिटीका कप्तान सन्दीप कुँवरले आफू यसअघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए ।

पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टोलीलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए ।

विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १८:५७
Weather Update