News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज

काठमाडौं— अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा फर्किएकी छन् ।

एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन् । उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडिओ पोस्ट गरेकी छन् ।

‘गोर्डनग्राम मेरो भान्सामा आए र बर्गर कसरी बनाउने भन्ने कुरा सिकाए’ ३१ वर्षीया सेलेनाले इन्स्टाग्राममा लेखेकी छन् । उनले इन्स्टाग्राममा बर्गर बनाउन सिकाउँदै गरेको भिडिओ क्लिप पनि राखेकी छन् । १४ मिनेटको भिडिओमा ५७ वर्षे रामसेले सेलेनालाई बर्गरको सामाग्री बनाउन, अण्डादेखि टर्कि बेकनको प्रयोगलगायतका कुरा सिकाएका छन् ।

गत मंगलबार सेलेनाले इन्स्टाग्रामको स्टोरीमा निर्माता प्रेमी बेनी ब्लान्को र दुई बालबालिकासँग खेल्दै गरेको भिडिओ पोस्ट गरेकी थिइन् । ‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदै छु’, उनले लेखेकी थिइन्, ‘केही महत्वपूर्ण कुरामा ध्यानकेन्द्रित गर्न चाहन्छु ।’  

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:०१
Weather Update