
काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको हरिहरभवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्यसचिव टङ्कलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो ।
खेलाडीहरूको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहरभवनस्थित मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरण पश्चात खेलाडी आवासका रुपमा रूपान्तरण गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो ।
विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोवास खर्च वापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको सदस्यसचिव घिसिङले बताए ।
‘हामीले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौं,’ सदस्यसचिव घिसिङले भने, ‘हालको मन्त्री निवासलाई खेलाडी आवासका रुपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुन्छ ।’
सदस्यसचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने बताए ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको पनि सदस्यसचिव घिसिङले जानकारी दिए ।