News Griha :: न्यूजगृह
अप्सरीको ह्याट्रिक, उपाधि जित्न कोशीलाई ११५ रनको लक्ष्य

काठमाडौं— प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि विभागीय क्लब एपीएफले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।

 त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो । कोशी प्रदेशका लागि अन्तिम ओभरमा अप्सरी बेगेमले ह्याट्रिक विकेट लिइन् । 

एपीएफमाथि सुरुमा कोशी प्रदेश हावी भएको थियो । ३.३ ओभरमा १३ रन बनेका बेला एपीएफले पहिलो विकेट गुमाउन पुग्यो । एपीएफकी कप्तान सीता रानागमर व्यक्तिगत १ रन बनाएर आउट भइन् । उनले ८ बल फेस गरिन् । त्यसपछि ओपनर ज्योति पाण्डे र इन्दु बर्माले पारि सम्हाले पनि रन बनाउन भने निकै संघर्ष गरेका थिए ।

९.१ ओभरमा टिमको स्कोर ४१ रन भएका बेला एपीएफले दोस्रो विकेट गुमाउन पुग्यो । एपीफकी ज्योति पाण्डे ३० बलमा २७ रन बनाएर आउट भइन् । उनले ३ चौका प्रहार गरिन् । यस्तै, रोमा थापाले १५ बलमा १४ रनको पारि खेल्दा ममता चौधरीले ६ बलमा ३ रनको मात्र योगदान गरिन् ।

१९.१ ओभरमा आउट भएकी इन्दु बर्माले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर १०० प्लस कटाइन् ।  व्यक्तिगत ५३ बर बनाउँदा ४७ बल फेस गरिन् । उनको ब्याटबाट १ छक्का र ६ चौका निस्कियो । दोस्रो बलमा नेरी थापालाई आउट गरेकी अप्सरीले तेस्रो बलमा सोनु खड्काले विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । सरिता मगरले ९ रन बनाउँदा करुणा भण्डारीले २ रन बनाए ।

कोशी प्रदेशका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिँदा खडियाले २ विकेट लिइन् । यसैगरी रुविना क्षत्री र निशा शाहले  एक एक विकेट हात पारे । समूह चरण र पहिलो क्वालीफायरमा एपीएफले कोशी प्रदेशलाई पराजित गरेको थियो । आज यसअघिका दुवै पराजयको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ कोशी प्रदेश केहीबेरमा जबाफी ब्याटिङमा उत्रने छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:४३
Weather Update